Facebook Twitter Linkedin YouTube

नेपाल बङ्गलादेश बैंकको नाफा

खुद ब्याज आम्दानी घटेको नेपाल बङ्गलादेश बैंकको नाफालाई अन्य सञ्चालन आम्दानीको टेवा

नेपाल बङ्गलादेश बैंक लिमिटेड (NBB) ले चालु आर्थिक वर्षको तेस्राे त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०२ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी घटेपनि फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो। यसका साथै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण पनि खुद नाफा बढ्न सहयोग पुगेको देखिन्छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.३५ प्रतिशत घटेको छ। यद्यपि, बैंकको फि तथा कमिशन आम्दानी ११.०९ प्रतिशत र अन्य सञ्चालन आम्दानी ५१४.५० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ५६.४१ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ९८ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ४९ पैसा बढेर २४ रुपैयाँ २६ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ७६ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष २८.१२ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १०.३२ प्रतिशत र कर्जा १२.१२ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.८५ प्रतिशतविन्दु घटेर १.९१ प्रतिशतमा सीमित भएको छ।

profit
#3rdQuarterProfit